मदरल्याण्ड मा.वि. मा अन्तरकक्षा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न

मदरल्याण्ड माध्यमिक विद्यालय, पर्सामा अन्तरकक्षा (Class Decoration) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका संस्थापक तथा प्रिन्सिपल डा. नन्दन यादवको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्री ओमप्रकाश खनालज्यू प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य श्री सन्तोष पौडेल, रिपोटर्स क्लब पर्साका अध्यक्ष श्री कन्हैया गुप्ता, कपडा बैंकका अध्यक्ष तथा पत्रकार श्री लालबाबु सिंह विशिष्ट अतिथिका रूपमा तथा नेपाल पत्रकार महासंघका जिल्ला सदस्य श्री रितेन्द्र झा र प्रेस सेन्टर पर्साका जिल्ला कोषाध्यक्ष श्री संजित गुप्ता अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

विद्यालयले आयोजना गरेको प्रतियोगितामा कक्षा ७ ले १५० पूर्णाङ्क मध्ये १३५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको थियो। कक्षा ६ ले १३४ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दा, कक्षा ४ र नर्सरीले समान १३३ अंक ल्याएर संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका थिए। कक्षा ५ ले १३२ अंक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गर्‍यो।

उक्त प्रतियोगितामा निर्णायकको रूपमा श्री लालबाबु सिंह, श्री कन्हैया गुप्ता र श्री रितेन्द्र झाज्यूले निष्पक्ष मूल्यांकन गर्दै निर्णय सुनाउनुभएको थियो। कार्यक्रमको सहजीकरण विद्यालयकी लेखापाल सुश्री विजेता चौधरीले गर्नुभएको थियो।

विजयी कक्षाहरुलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको हातबाट ट्रफी (शिल्ड) प्रदान गरियो। कार्यक्रममा सहभागी सम्पूर्ण कक्षाहरूको प्रयास सराहनीय रहेको र भविष्यमा यस्ता सिर्जनात्मक गतिविधिहरूले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा टेवा पुर्‍याउने विद्यालय प्रशासनले जनाएको छ।

यस किसिमका कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, समुहगत भावना र स्वच्छ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

ताजा अपडेट

Local News