वीरगञ्ज महानगरपालिका बिमल पौडेललाई नारायणी अस्पताल विकास समितिको सदस्य पदमा नियुक्त गरिएको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२ साल वैशाख २८ गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। पौडेलले अब आगामी तीन वर्षसम्म अस्पतालको नीति निर्माण, सेवा सुधार र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ (संशोधित) को दफा ३ को उपदफा (२) को खण्ड (घ) अनुसार पौडेललाई सदस्य पदमा मनोनीत गरेको हो। मन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयले अस्पताल प्रशासन र विकास समितिलाई औपचारिक सूचना पठाएको छ। निर्णयपत्रमा जनस्वास्थ्य अधिकृत तारा प्रसादको हस्ताक्षर छ, जसमा पौडेलको मनोनयनसम्बन्धी औपचारिक जानकारी उल्लेख गरिएको छ।
राजनीतिक रूपमा बिमल पौडेलको पृष्ठभूमि पूर्व माओवादी आन्दोलनसँग जोडिएको छ। पछिल्ला वर्षहरूमा उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संगठन ‘युवा संघ नेपाल’का जिल्ला इन्चार्जका रूपमा सक्रिय छन्। साथै, उनी राष्ट्रिय खेलकुद महासंघको मधेस प्रदेश सह–इन्चार्जको भूमिकामा पनि कार्यरत छन्।
वीरगञ्जको सामाजिक र स्वास्थ्य क्षेत्रमा सक्रिय सरोकारवालाहरूले पौडेलको मनोनयनलाई ‘उचित व्यक्तिको उपयुक्त स्थानमा नियुक्ति’ भएको ठानेका छन्। उनीहरूले पौडेलको सामाजिक प्रतिबद्धता, संगठनात्मक अनुभव र जनतासँगको प्रत्यक्ष सम्पर्कका आधारमा अस्पतालको सेवा प्रणालीमा पारदर्शिता, जनमुखीता र प्रभावकारिता बढ्ने आशा व्यक्त गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत पौडेलको अनुभव र कार्यशैलीले नारायणी अस्पतालको समग्र व्यवस्थापन, गुणस्तरीय सेवा विस्तार र भौतिक पूर्वाधारको विकासमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। मन्त्रालयको सूचनामा उल्लेख छ, “समिति सदस्यको रूपमा श्री पौडेलको सक्रियता अस्पतालको सेवा सुधारमा महत्त्वपूर्ण हुनेछ।”
नयाँ मनोनीत सदस्यको रूपमा बिमल पौडेलले अब अस्पतालको रणनीतिक योजना, नीति तर्जुमा, सेवा प्रवाहको निगरानी तथा विकास सम्बन्धी पहलहरूमा निर्णायक सहभागिता जनाउने अपेक्षा गरिएको छ।
