पत्रकारमाथिको दमन र हस्तक्षेपको विरोधमा प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइयो

पर्सा,वैशाख २८
गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समितिले सञ्चारकर्मीहरूमाथि भइरहेको दमन, हस्तक्षेप र आक्रमणको तीव्र विरोध गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ।

संस्थाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रम प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार सञ्चालन गरिएको थियो।

कार्यक्रममा समितिका सदस्यहरूले पत्रकारहरूमाथि पछिल्लो समय भइरहेको डर, धाकधम्की, दमन र अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको अंकुशप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको भन्दै तत्काल अन्त्य गर्न माग गरे।

ज्ञापनपत्रमार्फत पत्रकार सुरक्षाको प्रत्याभूति, स्वतन्त्र पत्रकारिताको सम्मान, तथा सञ्चार माध्यममाथिको सरकारी हस्तक्षेप रोक्न सरकारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारी आर्यलले ज्ञापनपत्र बुझ्दै सञ्चार क्षेत्रको स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारको हक अधिकार सुनिश्चित गर्न प्रशासन प्रतिवद्ध रहेको आश्वासन दिएका छन ।

ताजा अपडेट

Local News