बीरगंज,
सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा एक विशेष कार्यक्रमका बीच प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले आफ्नो औपचारिक कार्यभार सम्हालेका छन्। प्रहरी प्रधान कार्यालयको निर्णयानुसार चितवनबाट सरुवा भएर आएका एसपी मिश्रलाई कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा स्वागत गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईंलगायत अन्य प्रहरी अधिकारी तथा कर्मचारीहरूले एसपी मिश्रलाई फूलको माला लगाएर स्वागत गरेका थिए।
एसपी गौतम मिश्र नेपाल प्रहरी सेवाका एक अनुभवी अधिकारी हुन्। विगतमा उनले विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभव छ। २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखको रूपमा रहँदा उनले भाडाको भवनमा सञ्चालित कार्यालयलाई विभिन्न दाताहरूको सहयोगमा आफ्नै भवन निर्माण गरी सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षकको रूपमा कार्यरत रहँदै उनले उत्कृष्ट कार्य सम्पादन गरेका थिए।
पर्सावासीको सुरक्षा र शान्ति स्थापनामा प्रतिबद्ध
नयाँ जिम्मेवारी सम्हाल्दै एसपी मिश्रले पर्सा जिल्लावासीको सुरक्षा र शान्ति स्थापनालाई प्राथमिकता दिने बताएका छन्। उनले प्रहरी कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न, जनतासँगको सम्बन्ध सुधार गर्न र कानूनको शासन कायम गर्न निर्देशन दिएका छन्। उनले भने, “म पर्सा जिल्लालाई शान्ति सुरक्षाको दृष्टिकोणले अझ बलियो बनाउन मेरोतर्फबाट कुनै कसर बाँकी रहने छैन।”
एसपी गौतम मिश्रको आगमनसँगै पर्सावासीमा उत्साह छाएको छ। स्थानीय बासिन्दाहरूले उनबाट प्रभावकारी कामको अपेक्षा गरेका छन्। नयाँ प्रहरी प्रमुखले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण जस्ता समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। उनीबाट पर्सा जिल्लालाई सुरक्षित र समृद्ध बनाउने कामको अपेक्षा गरिएको छ।
