वीरगञ्ज, १० मंसिर : नारायणी अस्पतालमा करोडौं रुपैयाँको क्याथ ल्याब मेसिन जडान गर्न नसक्दा बिरामीहरू मारमा परेका छन्। मुटु रोगका बिरामीहरूको उपचारका लागि अत्यावश्यक मानिने यो मेसिन अस्पतालमा आएको वर्षौं बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
अस्पताल प्रशासनका अनुसार, भवन निर्माण नहुँदा यो मेसिनलाई जडान गर्न सकिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब पाँच करोड रुपैयाँको यो मेसिन २०७६ सालमै अस्पताललाई उपलब्ध गराएको थियो।
अस्पतालले क्याथ ल्याब राख्नका लागि भवन निर्माणको काम अघि बढाएको भए पनि काममा ढिलाइ हुँदा यो मेसिन थन्किएको हो। अस्पताल प्रशासनले आगामी पुस महिनाभित्र भवन निर्माण सम्पन्न हुने दाबी गरेको छ।
क्याथ ल्याब सञ्चालनमा नआउँदा मुटु रोगका बिरामीहरूलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता छ। यसले बिरामीहरूलाई आर्थिक भार मात्रै होइन, समयको पनि बर्बादी भएको छ।
