वीरगञ्ज, ७ मंसिर : बाराको गढीमाई मेलामा पशुबलीका लागि प्रयोग हुने हतियार खुल्ला रूपमा प्रदर्शन गर्न वा बोक्न प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो।
मंसिर १ गतेदेखि सुरु भएको यस मेलामा मंसिर २३ गते राँगा र २४ गते बोकाको बलि चढाउने कार्यक्रम छ। मेलामा हजारौँको संख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकाले शान्तिपूर्ण वातावरण कायम गर्न यस्तो निर्णय गरिएको जिल्ला प्रशासनले जनाएको छ।
यसअघि मेलामा हतियार खुल्ला रूपमा प्रदर्शन गर्ने र बोक्ने प्रचलन रहेको थियो। तर, यस पटकदेखि तरबार, खुँडा, खुकुरी, चक्कु जस्ता हतियार निषेध गरिएको छ। यस्तो हतियार बोकेको पाइएमा प्रहरीले जफत गर्ने र दोषीलाई कानुनी कारबाही गर्ने जिल्ला प्रशासनले चेतावनी दिएको छ।
