वीरगञ्ज, ६ मंसिर : रौतहटको ईशनाथ नगरपालिका–७ मा आयोजित चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन्।
शर्माले मधेसको विकास र समृद्धिका लागि कांग्रेसको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै कांग्रेसकै कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको दाबी गरे। उनले भने, ूयो देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन। कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो।ू
शर्माले कांग्रेससँग मधेसको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै मधेसको विकास र समृद्धिका लागि कांग्रेसलाई जिताएर अझै मजबूत बनाउनुपर्ने धारणा राखे। उनले रौतहटको ईशनाथ नगरपालिका–७ को वडा अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिकलाई रुख चिन्हमा मतदान गरी निर्वाचित गराउन सबैलाई आग्रह गरे।
कार्यक्रममा कांग्रेसका नेताहरू प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, मधेस प्रदेश सभापति कृष्णा प्रसाद यादव, मधेस प्रदेशका अर्थ मन्त्री जितेन्द्र प्रसाद यादव, माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।
