वीरगञ्ज, ६ मंसिर : पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थीहरू शिक्षक अभावका कारण आन्दोलनमा उत्रिएका छन्। बिहीबार विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन ठप्प पारेका हुन्।
विद्यालयका कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरूले विज्ञान, सामाजिक, अर्थशास्त्र र अंग्रेजी विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीहरूले पटक–पटक विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन्।
कक्षा १० का छात्र अमित गुप्ताले भने, “हामीले कैयौँ पटक शिक्षकको व्यवस्था हुनुपर्यो भनेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित सबैलाई भन्यौँ। तर उहाँहरूले चासो लिनुभएन। हाम्रो पढाइ बर्बाद भइरहेको छ। अब के गर्ने”
एक अभिभावकका अनुसार, विद्यालय प्रशासनले चार महिनाअघि नै शिक्षक नियुक्तिका लागि सूचना निकालेको थियो। तर, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सहायक प्रधानाध्यापकबीचको विवादका कारण शिक्षक नियुक्ति प्रक्रिया रोकिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबु चौरसियाले शिक्षक अभाव रहेको स्वीकार गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताए। उनले भने, “दसैँ विदामा शिक्षा शाखा प्रमुख घर जानुभएकोले विज्ञापन प्रक्रियामा ढिलाइ भएको हो। हामीले आवश्यक प्रक्रिया पूरा गरेर पालिकामा पठाइसकेका छौँ।”
