वीरगञ्ज, ५ मंसिर :मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको भारतको अयोध्या भ्रमणले प्रदेशमा राजनीतिक तरंग ल्याएको छ। बिना सरकारी आमन्त्रण भएको यो भ्रमणलाई लिएर पूर्वमुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सरकारको आलोचना गर्दै मधेशको बेइज्जत भएको दाबी गरेका छन्।
यादवले मुख्यमन्त्री सिंहले अयोध्या भ्रमणको उद्देश्य स्पष्ट नपारेको र यसका लागि आवश्यक कूटनीतिक पहल नगरेको बताए। उनले भने, “नेपाल र भारतबीचको सम्बन्धलाई मध्यनजर गर्दै यस्तो भ्रमणका लागि सरकारी तहबाटै पहल हुनुपर्ने थियो।”
पूर्वमुख्यमन्त्री यादवले मुख्यमन्त्री सिंहले विश्व हिन्दू परिषद्का जिल्ला अध्यक्षको नेतृत्वमा आयोजित कार्यक्रममा सहभागी हुनुलाई पदीय मर्यादा विपरीतको कदम भनेका छन्। उनले भने, “मुख्यमन्त्रीको हैसियतमा यस्तो कार्यक्रममा सहभागी हुनुले प्रदेश सरकारको गरिमामाथि प्रश्न उठेको छ।”
यादवले प्रदेश सरकारको कार्यसम्पादनप्रति पनि गम्भीर प्रश्न उठाएका छन्। उनले आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि विकास निर्माणका कामले गति नलिएको, बाढी प्रभावितहरूले क्षतिपूर्ति नपाएको र मधेश कृषि विश्वविद्यालयको अवस्था दयनीय भएको भन्दै सरकारको असफलता औंल्याएका छन्।
मुख्यमन्त्री सिंहको अयोध्या भ्रमण र प्रदेश सरकारको कार्यशैलीबारे बढ्दो आलोचनाबीच सरकारको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।
