काठमाडौं, ३ मंसिर : स्थानीय तह उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने अन्तिम दिन हो। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको योग्यता वा अन्य विषयमा उजुरी दर्ता गर्न सकिनेछ।
यसअघि आइतबार ४ सय ७ जनाले विभिन्न ४२ पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। यसमा जिल्ला समन्वय समिति प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ। आयोगले भोलि मङ्सिर ४ गते अपराह्न ५ बजेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। यही मङ्सिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
