पूर्वसभामुख ढुंगानाको निधन

काठमाडौं, २ मंसिर : नेपालका पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो।

२०४८ सालदेखि २०५१ सम्म सभामुख रहेका ढुंगानाले नेपाली राजनीतिमा उल्लेखनीय योगदान दिएका थिए। पञ्चायतकालदेखि नै राजनीतिक यात्रा सुरु गरेका उनी वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका थिए। ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागेका थिए।

०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए। उनी सरकार(माओवादी शान्ति वार्ताका सहजकर्ता थिए। तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले खेलेको भूमिका अविस्मरणीय छ।

ढुंगानाले नेपाली राजनीतिमा लोकतन्त्रको स्थापना र सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। उनी एक सच्चा लोकतन्त्रवादी र मानवअधिकारवादीका रूपमा चिनिन्थे।

ढुंगानाको निधनले नेपाली राजनीति शोकमा डुबेको छ। विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले उनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

ताजा अपडेट

Local News