वीरगञ्ज, २ मंसिर : मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले यु–१९ महिला विश्वकप क्रिकेटका लागि छनोट भएकी नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रवीणलाई उनको घरमै पुगेर बधाई दिएका छन्।
आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–१३ मूर्लीस्थित सानाको निवासमा पुगेका मन्त्री जयसवालले उनलाई माला लगाई सम्मान गरेका हुन्। साथै, आगामी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नका लागि शुभकामना समेत दिए।
मन्त्री जयसवालले यु–१९ महिला विश्वकपका लागि छनोट भएका मधेस प्रदेशका तीनै जना खेलाडीको हौसला बढाउन उनीहरूको घरमै पुगेर बधाई दिने कार्यक्रम राखिएको बताए। उनले यस अभियानको पहिलो चरणमा सानालाई सम्मान गरे भने अब राष्ट्रिय टिमकी कप्तान पूजा महतो र अर्की खेलाडी एलिशा यादवको निवासमा पुगेर पनि सम्मान गर्ने जानकारी दिए।
मधेस प्रदेशका तीन प्रतिभावान् खेलाडी साना प्रवीण, पूजा महतो, र एलिशा यादवको यो उपलब्धिले प्रदेशकै खेलकुद क्षेत्रमा नयाँ प्रेरणा जगाएको छ। खेलाडीहरूलाई प्रोत्साहित गर्न मन्त्री जयसवालको यो कदमलाई स्थानीय तहमा सकारात्मक रूपमा लिइएको छ।
यसअघि, मन्त्री जयसवालले यु–१९ महिला विश्वकप क्रिकेटका लागि छनोट भएका मधेसका तीनै जना खेलाडीलाई जनही १ लाख ५१ हजार रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए। उनले छिट्टै एक औपचारिक कार्यक्रममार्फत उक्त पुरस्कार हस्तान्तरण गरिने जानकारी दिए।
नेपालको यु–१९ महिला क्रिकेट टिम आगामी डिसेम्बर १५ देखि १८ तारिखसम्म मलेसियामा हुने यु–१९ महिला एसिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिखसम्म मलेसियामै आयोजना हुने यु–१९ महिला विश्वकपमा प्रतिस्पर्धा गर्नेछ।
