कांग्रेस—एमालेको संयुक्त बैठकले प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने

वीरगन्ज, २ मंसिर ः पर्सामा नेपाली कांग्रेस र नेकपा एमालेले जिल्लाको समग्र विकासका लागि संयुक्त पहल गर्ने निर्णय गरेका छन्। आइतबार वीरगन्जमा बसेको दुई दलीय संयन्त्रको बैठकले पर्सा जिल्लाका विकास निर्माणका विषयलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

बैठकले जिल्लाको विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिएको छ। उनीहरूले तयार पारेको मस्यौदामा आधारित भएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइनेछ।

ज्ञानपत्रमा पर्सा जिल्लाका सडक, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधार विकासका विषयलाई प्राथमिकता दिइने बताइएको छ। साथै, जिल्लाका उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र कृषि क्षेत्रको विकास गर्ने विषयलाई पनि ज्ञापनपत्रमा समावेश गरिनेछ।

नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले पर्साको विकासका लागि दुवै दलबीच सहकार्य हुने बताए। उनले भने, पर्साको विकासका लागि हामीले पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नेछौँ।

नेकपा एमाले पर्साका केन्द्रीय सदस्य एंव पर्सा इन्चार्ज प्रभु हजरा पनि पर्साको समग्र विकासका लागि दुवै दल मिलेर काम गर्न तयार रहेको बताए। उनले भने, हामीले पर्साका जनताका समस्यालाई सम्बोधन गर्न सरकारसँग निरन्तर दबाब दिनेछौँ।

नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलीय संयन्त्र बनाइएको छ। यस संयन्त्रले दुवै दलबीच समन्वय गर्ने र सरकारलाई आवश्यक सहयोग प्रदान गर्ने काम गर्नेछ।

ताजा अपडेट

Local News