वीरगन्ज, २ मंसिर : वीरगन्जको सिर्सिया सुक्खाबन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २० करोड ४ लाख ५६ हजार रुपैयाँ कम राजस्व संकलन गरेको छ।
ड्राइपोर्ट भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपैयाँभन्दा कम हो।
विदेशी मुलुकबाट हुने वस्तु तथा सामानको आयातमा कमी आउनुलाई राजस्व संकलनमा गिरावट आउनुको प्रमुख कारण मानिएको छ। चाडपर्वको समयमा धेरै बिदा भएकाले पछिल्ला महिनामा आयात घटेको र सोही कारण राजस्व संकलनमा पनि कमी आएको भन्सार अधिकृत बरुवालले बताए।
