काठमाडौं, २८ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता कार्यकर्ताहरूलाई आगामी उपनिर्वाचनमा होमिन निर्देशन दिएका छन्। काठमाडौंको कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले जनताले गरेका अपेक्षा पूरा गर्न नसकेको स्वीकार गर्दै पार्टीले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
उनले भने, “जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौँ। हामी बदलिन चाहन्छौँ, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस्। टोल–टोल र घर घरमा पुग्नुहोस्।”
प्रचण्डले माओवादीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेका प्रयासको प्रशंसा गर्दै जनताले माओवादीलाई पुनः विश्वास गर्न थालेको बताए। उनले भने, “माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्ट सँग बुझिसकेका छन्।”
प्रचण्डले पार्टीले गरेका कामसँगै गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे। उनले कीर्तिपुरमा इमान्दार उम्मेदवार उठाएकोले जित निश्चित रहेको दाबी गरे।
