मधेशी जनताले अझैसम्म न्याय पाएका छैनन् : उपेन्द्र यादव

रौतहट, २७ कात्तिक : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताले आफ्ना हक, अधिकार र प्रतिनिधित्वका लागि लामो समयदेखि संघर्ष गर्दै आएको बताएका छन्। सोमबार गढीमाई नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मधेशी जनताले अझैसम्म न्याय पाउन नसकेको गुनासो गरे।

यादवले राज्यले मधेश र मधेशी जनतालाई सधैं अपेक्षा गरेको तर विकासमा भने पछाडि पारेको आरोप लगाए। उनले भने, “मधेशमा देशको आधाभन्दा बढी जनसंख्या रहेको भए पनि जनसंख्याको आधारमा विकास बजेट छुट्याइँदैन। यसले गर्दा मधेश पछाडि परेको छ र विकासको गति अवरुद्ध भएको छ।”

यादवले तथ्यांक प्रस्तुत गर्दै भने, “मधेशमा लगभग ५४ प्रतिशत जनसंख्या भए पनि शासक वर्गले विकासका लागि जम्मा १२ प्रतिशत मात्र बजेट छुट्याएको छ।” उनले राज्यले मधेशमा पर्याप्त लगानी नगरेको र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउन नचाहेको आरोप लगाए।

यादवले मधेशी, जनजाति, आदिवासी, थारु, मुस्लिमजस्ता समुदायलाई भोटका लागि प्रयोग गरिने तर अधिकार नदिइने कुरामा चिन्ता व्यक्त गरे। उनले भने, “मधेशी जनताले मधेशबाट कांग्रेस र कम्युनिष्टलाई परास्त नगरेसम्म पूर्ण अधिकार पाउने स्थिति आउने छैन।”

यादवले आगामी निर्वाचनमा मधेशी जनताको माग र मुद्दा विर्सने शासक वर्गलाई मत नदिन आग्रह गरे। उनले भने, “३५ वर्षदेखि सत्ता सञ्चालन गर्दै आएका कांग्रेस र कम्युनिष्टले देशलाई विकास गर्नुको सट्टा लुटतन्त्रमा लागेका कारण देश चरम गरिबीमा फसेको छ।”

कार्यक्रममा जसपा नेपालका महासचिव तथा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशका पूर्वराज्यमन्त्री शेख फूलबाबु, पूर्वप्रदेश सांसद रामकिशोर राय यादवलगायत नेताहरूले आ–आफ्ना मन्तव्य राखेका थिए।

ताजा अपडेट

Local News