वीरगञ्ज, २७ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्ताधारी दलका नेताहरूले देशलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाएका छन्। वीरगञ्जमा आयोजित तराई–मधेस राष्ट्रिय सम्मेलनमा सहभागी भएपछि आयोजित पत्रकार सम्मेलनमा थापाले यस्तो आरोप लगाएका हुन्।
थापाका अनुसार, जेलमा बस्नुपर्ने डरले सत्ता कब्जा गरेका नेताहरूले देशलाई संकटतर्फ धकेलेका छन्। उनले संघीयता र धर्मनिरपेक्षताको नाममा अर्बौं रुपैयाँको लुट मच्चाइएको भन्दै जनता अझै गरिबीमा रहेको बताए।
राजतन्त्रको अन्त्य गरेर गरिबी निवारण र आर्थिक समृद्धिको नारा दिएका नेताहरू गणतन्त्रको नाममा लुटमा व्यस्त भएको थापाको आरोप छ। उनले देशका हजारौं युवा रोजगारीका लागि विदेश जान बाध्य भएकोमा दुःख व्यक्त गर्दै भने, हाम्रा जनशक्ति विदेशमा अरूको विकास गरिरहेका छन्, यहाँको विकास कसरी हुन्छ ।
मिटरब्याजी र सहकारी पीडितहरू सडकमा संघर्ष गरिरहेका बेला नेताहरू सिंहदरबारमा मात्र योजना बनाइरहेको भन्दै थापाले सत्ता सन्तुलनको लागि कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा भ्रष्टाचार बढाएको बताए। उनले भने,संसारमा नभएको भ्रष्टाचार नेपालमा हुने गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरूको संसद्मा सभ्य भाषण सुनेर आफुलाई आश्चर्य लागेको समेत थापाले बताए। पार्टी उपाध्यक्ष धीरेन्द्र झा ‘ मैथिल’ ले नेपालमा पनि भ्रष्टाचारविरुद्ध बङ्गलादेश जस्तै जनआन्दोलन आवश्यक रहेको भन्दै जनतालाई आन्दोलनको लागि तयार हुन आह्वान गरे।
