१० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षा तालिम, विश्व कीर्तिमानको लक्ष्य

वीरगञ्ज, २७ कात्तिक : वीरगञ्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षा तालिम दिएर विश्व कीर्तिमान बनाउने अभियान थालेको छ। बुधवार बिहान १० बजेदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुने यो तालिमले किशोरीहरूलाई आत्मरक्षामा सक्षम बनाउने लक्ष्य राखेको छ।

महानगरले यस तालिममार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउने लक्ष्य राखेको छ। महानगरका प्रमुख राजेशमान सिंहका अनुसार, एकैपटक यति धेरै किशोरीलाई आत्मरक्षा तालिम दिने यो पहिलो प्रयास हो। यसले वीरगञ्जलाई मात्र नभई सम्पूर्ण नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उनको विश्वास छ।

यो तालिमले किशोरीहरूलाई आत्मरक्षामा सक्षम बनाउनुका साथै समाजमा महिला सशक्तीकरणको महत्त्वलाई प्रवर्धन गर्नेछ। महानगर प्रमुख सिंहले आम नगरवासी र अभिभावकहरूलाई यो ऐतिहासिक कार्यक्रम सफल पार्न सहयोग गर्न आग्रह गरेका छन्।

तालिमका लागि भारतबाट मार्शल आर्ट प्रशिक्षक डा। चिता यजनेश शेट्टीलाई विशेष रूपमा बोलाइएको छ। डा। शेट्टीले अमिताभ बच्चन, सलमान खान जस्ता बलिउडका सुपरस्टारहरूलाई पनि आत्मरक्षामा प्रशिक्षण दिइसकेका छन्।

महानगरले प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा प्रबन्ध मिलाएको छ। सहभागी छात्राहरूलाई विद्यालयबाट प्रशिक्षण स्थलसम्म सुरक्षित रूपमा ल्याउन र फर्काउन सम्पूर्ण व्यवस्था गरिएको छ। एक हजारभन्दा बढी महिला स्वयंसेवी, आपत्कालीन चिकित्सा टोली र सुरक्षा निकायका कर्मचारीहरू तैनाथ गरिनेछ।

महानगरको यो पहललाई वीरगञ्जवासीले सकारात्मक रूपमा लिएका छन्। नगरका विभिन्न सामाजिक तथा महिला सङ्गठनहरूले यो तालिमले किशोरीहरूको आत्मविश्वास बढ्ने र भविष्यमा चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

तालिम सफलतापूर्वक सम्पन्न भएमा वीरगञ्जको नाम वर्ल्ड रेकर्डमा समावेश हुनेछ, जसले नगरको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो बनाउनेछ। यसले अन्य महानगरहरूलाई पनि यस्ता कार्यक्रम गर्ने प्रेरणा दिने सम्भावना रहेको छ।

ताजा अपडेट

Local News