वीरगञ्ज, २७ कात्तिक : जिल्ला प्रहरी कार्यालय पर्साले बेश्यावृत्तिमा संलग्न १२ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वा भन्सार क्षेत्रका विभिन्न होटलहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सात जना महिला र पाँच जना पुरुष रहेका छन्। प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।
स्थानीय बासिन्दाबाट होटलहरूमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने गुनासो आएपछि वडा प्रहरी कार्यालय विर्ताको टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रहरीले उक्त होटलहरूमा बेश्यावृत्ति भइरहेको पाइएको र तत्काल १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले ईनर्वा र भन्सार क्षेत्रका शंकास्पद स्थानहरू र विभिन्न होटलहरूमा अनुगमन गर्दै यो कारबाही गरेको हो।
प्रहरीले अनैतिक गतिविधि रोकथाम र समाजलाई सुरक्षित बनाउन यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निरन्तर निगरानी राख्ने बताएको छ।
