वीरगञ्ज, १२ कार्तिक : पर्सामा केही वर्षदेखि रोकिएको लागूऔषध गाँजाको खेती फेरि बढ्न थालेको छ। एक दशकअघिसम्म गाँजा खेती र कारोबारका लागि कुख्यात बनेको यस जिल्लामा प्रहरी प्रशासनको सक्रियताले यो गतिविधिमा कमी आएको थियो। तर पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा लुकिछिपी गाँजा खेती हुन थालेको पाइएको छ।
ठोरी, पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी गाँउपालिका र पर्सागढी नगरपालिकाका जंगलसँग जोडिएका क्षेत्र र खोला किनारका सुनसान बगरमा गाँजा खेती व्यापक रूपमा भइरहेको छ। एक साताको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। गत बुधबारदेखि सोमबारसम्म प्रहरीले करिब ८३ हजार गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सोमबार मात्रै सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर १ सखुनियाको बिन्दवासिनी कोइलाभार साझेदारी वन व्यवस्थापन समितिको जग्गामा लगाइएको करिब ६० हजार गाँजाका बोट नष्ट गरिएको थियो। स्थानीयले वनभित्र गाँजा खेती भएको देखेर प्रहरीलाई खबर गरेका थिए। उक्त जग्गामा गत वर्ष डिभिजन वन कार्यालय पर्साले तारबार लगाएर वृक्षारोपण गरेको थियो। तर तारबारभित्रै गाँजा खेती भेटिएपछि स्थानीयले वन कार्यालय र मातहतका कर्मचारीको मिलोमतोको आशंका गरेका छन्।
पर्सागढी नगरपालिका र पटेर्वा सुगौली गाउँपालिकामा पनि गरी दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको थियो।
पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, प्रहरीले गाँजा खेतीविरुद्ध अभियान चलाएको छ। उनले भने, “हामी जनतालाई पनि सूचना दिन आग्रह गर्छौं। गाँजा खेती भएको देखेमा प्रहरीलाई खबर गर्न अनुरोध छ।”
पर्सामा मकवानपुरका दुर्गम पहाडी भेगबाट गाँजाका बीउ ल्याएर किसानलाई उपलब्ध गराउने गरिएको स्थानीयको भनाइ छ। सरकारले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा छलफल चलाइरहेको भए पनि अहिलेसम्म यसबारे कुनै निर्णय भएको छैन।
