कलैया, १२ कात्तिक : बाराको महागढीमाई नगरपालिका–१ सेमरा तेगछियामा ५० वर्षीय नारायण यादवको हत्या भएपछि स्थानीय आक्रोशित भएका छन्। हत्यारा पक्राउ गर्न माग गर्दै आइतबार उनीहरूले कलैयामा प्रदर्शन गरेका हुन्।
शनिबार राति धारिलो हतियार प्रहार गरी यादवको हत्या गरिएको थियो। आइतबार बिहान स्थानीयवासीले यादवको शव लिएर जिल्लाको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले हत्यामा संलग्नलाई छिटो पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
नेपाली कांग्रेसका जिल्ला सचिव भैयारामा यादवले दोषीलाई सोमबार बेलुकासम्म सार्वजनिक गर्न माग गर्दै, अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता सापकोटाले पक्राउ परेकाहरूको नाम गोप्य राखिएको र अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। यादवको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको पनि उनले बताए।
