सरुवामा दबाब झेलेर मन्त्री गुप्ताले स्थानीय तहमा कर्मचारी पठाउने

काठमाडौं, १२ कात्तिक : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै देशका सबै स्थानीय तहमा कर्मचारी खटाइने दाबी गरेका छन्। उनले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहमा कर्मचारी व्यवस्थापन गरिसकेको बताए।

मन्त्री गुप्ताका अनुसार, उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जिल्ला समन्वय समितिहरूमा कर्मचारीको चरम अभाव थियो। तर, उनको पहलमा अहिले सबै जिल्ला समन्वय समितिहरूमा आवश्यक कर्मचारी खटाइसकिएको छ। यस्तै, ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनियर) पनि खटाइएको छ।

“हामीले करिब एक दशकदेखि एकै ठाउँमा बसेर काम गरिरहेका १२५८ जना कर्मचारीलाई विभिन्न ठाउँमा सरुवा गरेका छौँ,” मन्त्री गुप्ताले भने, “यसले प्रशासनिक कार्यलाई चुस्त बनाउन मद्दत पुग्नेछ।”

यद्यपि, यति ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा मन्त्री गुप्ताले विभिन्न दबाब झेल्नुपरेको थियो। उनले भने, “कामको सन्दर्भमा आउने दबाबको अगाडि झुक्दिनँ।”

कर्मचारी सरुवासम्बन्धी नयाँ नियमावली मन्त्रालयबाट पारित भई कानुन मन्त्रालयमा पठाइएको मन्त्री गुप्ताले जानकारी दिए। यसले कर्मचारी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

मन्त्री गुप्ताले संघीय निजामती विधेयकमाथि छलफल तीव्र पारिएको र आगामी संसद अधिवेशनबाट यो विधेयक पारित हुने विश्वास व्यक्त गरेका छन्।

ताजा अपडेट

Local News