काठमाडौंबाट दिल्ली उडान रद्द : बमको हल्लापछि प्रहरीको व्यापक जाँच

काठमाडौं, १२ कात्तिक : काठमाडौंबाट दिल्लीका लागि उडान भर्न तयार रहेको एयर इन्डियाको विमानमा बम रहेको भन्ने सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हडकम्प मच्चिएको छ। विमानस्थल प्रशासनले विमानको व्यापक जाँच सुरु गरेको छ।

सोमबार अपराह्न २:४१ बजे अवतरण गरेको विमान उडानको तयारीमा रहेका बेला भारतबाट बमको सूचना आएको नेपाल प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। सूचना प्राप्त भएलगत्तै विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरूले विमानको गहन जाँच सुरु गरेका हुन्।

“विमानमा बम रहेको भन्ने सूचना आएपछि हामीले तुरुन्तै खोजतलास सुरु गरेका छौँ,” एक प्रहरी अधिकारीले भने, “सेनाका तालिम प्राप्त कुकुरहरूको सहयोगमा विमानको हरेक कुना कन्दराको निरीक्षण भइरहेको छ।”

यसअघि पनि भारतीय वायुसेवा कम्पनीका विमानहरूमा बम रहेको भन्दै पटक-पटक झुटा सूचनाहरू आइरहेका छन्। गत हप्ता मात्रै दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरवेजको जहाजमा बम रहेको भन्ने हल्ला फैलिएको थियो। तर, त्यतिबेला कुनै शंकास्पद वस्तु फेला परेको थिएन।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरूलाई लक्षित गरी बमको खतराको हल्ला फैलाउने क्रम बढेको छ। यसले भारतको विमान सेवामा गम्भीर असर पुर्‍याएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, गत शनिबार मात्रै भारतमा ३० वटा यस्ता खालका धम्कीपूर्ण सूचनाहरू आएका थिए।

ताजा अपडेट

Local News