काठमाडौं, १२ कात्तिक : सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा प्राप्त जग्गामा नेकपा एमालेले निर्माण गरिरहेको पार्टी कार्यालय भवन निर्माण कार्य तत्काल रोक्न आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसहित नेकपा एमाले र व्यवसायी गुरुङलाई छलफलमा बोलाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार अदालतले जग्गा दाता गुरुङ र लिने एमालेलाई यसबारे स्पष्टीकरण पेस गर्न आदेश दिएको छ।
गत दशैंको फूलपातीको दिन कलंकीमा भएको पार्टी कार्यालय भवनको शिलान्यासमा गुरुङले एमालेलाई जग्गा दान गरेको घोषणा गरेका थिए। यस घटनाले व्यापक विवाद निम्त्याउँदै सार्वजनिक आक्रोश उत्पन्न गरेको थियो।
अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले यो निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनीहरूले यो दानमा भ्रष्टाचार र अनियमितता भएको आशंका व्यक्त गरेका थिए।
