बारा, ९ कार्तिक : नेपाल विद्युत प्राधिकरणले बिहीबार बाराका दर्जनौं ठूला उद्योगहरूको विद्युत लाइन काटेको छ। जगदम्बा स्टील, हुलास स्टील, अशोक स्टील, हामा आइरन, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्टलगायतका उद्योगहरू प्रभावित भएका छन्।
प्राधिकरणले यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै यस्तो कदम चालेको हो। यसअघि प्राधिकरणले असोज २४ गते ४९ उद्योगहरूलाई कात्तिक ८ गतेसम्म बक्यौता रकम बुझाउन सूचना जारी गरेको थियो। तोकिएको समयसीमाभित्र अधिकांश उद्योगहरूले महसुल नतिरेपछि प्राधिकरणले बिहीबार रातिदेखि लाइन काट्न थालेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस विषयमा मन्त्रिपरिषद्मा छलफल भए पनि कुनै निर्णय नभएपछि बाध्य भएर यस्तो कदम चाल्नुपरेको बताएका छन्। डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत वितरण गरिएको विद्युत् महसुल दरको भुक्तानीलाई लिएर २०७५ सालदेखि विद्युत प्राधिकरण र उद्योगीहरूबीच विवाद चलिरहेको छ।
