बारामा १४ किलो चाँदीसहित दुई युवक पक्राउ, तस्करीको आशंका

वीरगन्ज, ९ कार्तिक : बारामा प्रहरीले ठूलो परिमाणमा चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराकै प्रसौनी गाँउपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दा रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूको साथबाट २५ लाख रुपैयाँ बराबरको १४ किलो चाँदीका मुर्ति र अन्य तयारी गहना बरामद गरिएको छ। प्रहरीले उनीहरूलाई चोरी वा तस्करी गरेको आशंकामा पक्राउ गरेको हो।

पथलैयाबाट हेटौँडा तर्फ जाँदै गरेका उनीहरूलाई बाराको अमलेखगन्जमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको तेल ट्याङ्कीभित्र फल्सबटम बनाएर लुकाइएको अवस्थामा चाँदी फेला परेको हो।

प्रहरीले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान गरिरहेको छ। प्रहरीले उनीहरूबाट चाँदी कसरी आयो र कहाँ लैजान लागेको थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको छ। अनुसन्धान पूरा भएपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने जनाइएको छ।

बारामा ठूलो परिमाणमा चाँदी बरामद हुनुले चोरी वा तस्करीको घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले यस घटनाको गहन अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।

ताजा अपडेट

Local News