पोखरा, ८ कात्तिक : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रवि सहित छविलाल जोशी र लीला पछाइँलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। प्रहरीले अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद पाएको थियो। पूर्व डीआईजी छविलाल जोशीलाई पनि आजै अदालतमा उपस्थित गराइएको थियो। उनलाई गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो।
गोर्खा मिडिया मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो। रवि र छवि विरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ।
सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ।
रास्वपाले यसलाई राजनीतिक प्रतिशोध भनेको छ। पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ।
सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पटक–पटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबार मात्र रवि सहित १४ जना विरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ।
