काठमाडौं, ८ कात्तिक : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफ्नो १०० दिने कार्यकालमा हासिल गरेका उपलब्धी सार्वजनिक गरेकी छन्। उनले त्रिभुवन विश्वविद्यालयले परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्न सोध्ने निर्णयलाई आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीका रूपमा प्रस्तुत गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयले गत चैतमा निकालेको सूचनाअनुसार आगामी परीक्षाहरुमा विद्यार्थीलाई दुवै भाषामा प्रश्नको विकल्प दिने निर्णय गरेको थियो। यो निर्णय विद्यार्थीहरूको लामो समयदेखिको माग थियो।
कक्षा १२ को नतिजा नआउँदै चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षाको फर्म भरेका तर नतिजा नआएकाले अयोग्य भएका विद्यार्थीको परीक्षा दस्तुर फिर्ता गरिएको छ। पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिने समकक्षताको प्रमाणपत्रका लागि अनलाइन आवेदन दिएपछि लाग्ने समय १५ दिनबाट घटाएर ५ दिनमा झारिएको छ। असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माण र नियमित पठनपाठन सञ्चालनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको छ। एसईई उत्तीर्ण गरेका २५ सय विद्यार्थीलाई तालिम दिने योजना अघि बढाइएको छ।
मन्त्री भट्टराईले यी उपलब्धीहरू आफ्नो व्यक्तिगत प्रयासभन्दा पनि मन्त्रालयको समग्र प्रयासको परिणाम भएको बताएकी छन्। उनले त्रिवि र चिकित्सा शिक्षा आयोगका निर्णयमा मन्त्रालयको प्रत्यक्ष भूमिका रहेकोले यसलाई आफ्नो उपलब्धीमा समावेश गरिएको स्पष्ट पारेकी छन्।
मन्त्रीले विद्यालय शिक्षा ऐन पारित भएमा शिक्षा क्षेत्रका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छन्। उनले सरकारका कामलाई निरन्तरता दिने र नीति, नियम तथा कानुनको पालना गर्ने कुरामा जोड दिएकी छन्।
