वीरगञ्ज, ७ कात्तिक: बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले ‘एक युवा, पाँच बिरुवा’ भन्ने नाराका साथ वृक्षारोपण अभियान सुरु गरेको छ।
तीनदिने यस अभियानको पहिलो दिन बुधबार युवा संघ नेपाल परवानीपुर गाउँपालिका कमिटीले गाउँपालिकाको वडा नम्बर २ मुसहरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको परिसर र मुसहरीदेखि परवानीपुर बजार पुग्ने सडकको छेउमा वृक्षारोपण गरेको छ। यस क्रममा आँप, साल, निम, टिक लगायतका २५० वटा विरुवा रोपिएको युवा संघ नेपालका केन्द्रीय सचिव इन्जिनियर मोविन आलमले जानकारी दिए।
युवा संघ नेपाल परवानीपुर गाउँपालिका कमिटीका अध्यक्ष रामबाबु चौहानको अध्यक्षतामा भएको यस कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य गजेन्द्र पटेल, युवा संघ नेपालका केन्द्रीय सदस्य राम यादव, वडाध्यक्ष देवा अन्सारी लगायतको उपस्थिति रहेको थियो।
