वीरगञ्ज, ७ कात्तिक : वीरगन्जस्थित कृषि औजार कारखानामा कृषि औजारको व्यावसायिक उत्पादनलाई थप गति दिन राष्ट्रिय आविष्कार केन्द्रले ५० लाख रुपैयाँको सीएनसी फाइबर लेजर सिट कटिङ मेसिन खरिद गरेको छ।
केन्द्रका इन्जिनियर रितेश देवका अनुसार यो मेसिनले कृषि औजार उत्पादनका लागि आवश्यक पर्ने फलामे पातालाई आवश्यकता अनुसार सहजै काट्न सक्छ। यसले गर्दा कारखानामा कृषि औजार उत्पादनको कामलाई थप सहज बनाउनेछ।
चिनियाँ कम्पनीबाट खरिद गरिएको यो मेसिनका लागि आवश्यक रकम राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो आत्मकथा बिक्री गरेर संकलित रकमबाट जुटाएका हुन्। यसबाहेक कारखानामा रहेको ‘हिट ट्रिटमेन्ट युनिट’ को पनि मर्मत सम्भारको काम भइरहेको छ। यो युनिटले विभिन्न कृषि उपकरणमा प्रयोग हुने गियर बक्स उत्पादन गर्छ।
कारखानामा हाल रोल्पा एग्रिकल्चर कलेजका तीन विद्यार्थी गाँजाको बोटको डण्डीबाट इटा बनाउने मेसिन ‘डेर्कोरटिकेटर’ को निर्माणमा व्यस्त छन्। यो मेसिन निर्माण भएमा नेपाली वैज्ञानिकहरूका लागि ठूलो उपलब्धि हुनेछ।
कारखानाले आगामी २ महिनाभित्र धान काट्ने रिपर र धान झार्ने थ्रेसर मेसिन उत्पादन गर्ने लक्ष्य लिएको छ। यसका लागि आवश्यक तयारीका कामहरू भइरहेका छन्।
केन्द्रले यसअघि नै धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुख्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ। यस बाहेक कुटो, कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन गरी सकेको छ।
