काठमाडौं, ७ कात्तिक : बाराको बरियारपुरमा आयोजना हुने प्रसिद्ध धार्मिक मेला गढीमाइ मेला यस वर्ष मंसिर १७ देखि ३० सम्म सञ्चालन हुने भएको छ। यस मेलामा करिब २ करोड भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ।
मेलाको सफल सञ्चालनका लागि महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिले मेला क्षेत्रमा भक्तजनको सुरक्षा, यातायात, खानपिनलगायतका सबै किसिमका व्यवस्था मिलाउने जनाएको छ।
गढीमाइ मन्दिरमा मंसिर २३ देखि २५ गतेसम्म विशेष पूजाको आयोजना गरिनेछ। यस पूजामा झाँक्रीले विधिपूर्वक तान्त्रिक पूजा गरी पञ्चबलि चढाउने परम्परा छ। यस वर्षको विशेष पूजाका लागि भक्तजनले ५०० रुपैयाँ दान दिनुपर्नेछ।
गढीमाइ मन्दिरको मूल पुजारी चौधरी समुदायबाट आउने परम्परागत मान्यता रहेको छ। हाल, मंगल चौधरी यस मन्दिरका मूल पुजारी हुन्।
गढीमाइ मेलामा नेपालका विभिन्न भागबाट मात्र नभई भारतका दिल्ली, हरियाणा, उडिसा, विहार, झारखण्ड, यूपी, बंगाललगायतका राज्यबाट पनि ठूलो संख्यामा भक्तजनहरू आउने गर्दछन्। मेला व्यवस्थापन समितिका अनुसार, कुल भक्तजनमध्ये ७० प्रतिशत भारतबाट आउने गर्छन्।
