काठमाडौं, ७ कात्तिक : भारतको अन्डरवर्ल्ड डन छोटा राजनलाई बम्बई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। सन् २००१ मा भएको जया सेट्टीको हत्या मुद्दामा उनलाई दिइएको आजीवन कारावासको सजाय पनि अदालतले निलम्बित गरिदिएको छ।
बुधबार न्यायाधीश रेवती मोहिते डेरे र पृथ्वीराज चाभनको इजलासले यस्तो आदेश दिएको हो। यद्यपि, छोटा राजन अझै पूर्ण रूपमा कारागारमुक्त भने भएका छैनन्। उनीमाथि अर्को मुद्दा, पत्रकार ज्योतिमर्य डे (जे डे) को हत्याको आरोपमा पनि आजीवन कारावासको सजाय छ।
सन् २००१ मा भएको जया सेट्टीको हत्यामा छोटा राजनसहित उनका साथीहरू दोषी ठहर भएका थिए। उनीहरूलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। तर, हालै उच्च अदालतले यो सजायलाई निलम्बित गरिदिएको हो।
सन् २०११ मा पत्रकार जे डेको हत्या भएको थियो। यस हत्यामा पनि छोटा राजनलाई दोषी ठहर गरिएको छ। उनलाई यस मुद्दामा पनि आजीवन कारावासको सजाय भएको छ।
छोटा राजन नेपालमा पनि सक्रिय रहेको बताइन्छ। उनी नेपालमा भएका केही हाई-प्रोफाइल हत्यामा पनि जोडिएका छन्। जस्तै, स्पेसटाइम नेटवर्कका मालिक जमिम शाहको हत्या, राप्रपाका पूर्वसांसद मिर्जा दिलसाद वेगको हत्यामा पनि उनको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।
