बैंकको संकटले सेयर बजारमा ठूलो धक्का

काठमाडौं, ७ कात्तिक: चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकहरूको वित्तीय विवरण अपेक्षाअनुसार सन्तोषजनक नआएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ। बैंकिङ क्षेत्रको कमजोर प्रदर्शनले समग्र बजारलाई नै प्रभावित पारेको हो।

बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफामा केही सुधार देखिए पनि त्यो मुख्यतया नियमक निकायले ल्याएका केही सहुलियतका कारण भएको हो। बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिने ब्याज आम्दानीमा खासै सुधार आएको छैन। यसका साथै, बैंकहरूको खराब कर्जाको समस्या पनि ज्यूँका त्यूँ छ।

बैंकहरूले आफ्नो नउठेको कर्जा उठाउन सफल नहुँदा वितरणयोग्य नाफामा पनि कमी आएको छ। केही बैंकहरूले त वितरणयोग्य नाफामा घाटा नै बेहोरेका छन्।

यसको प्रत्यक्ष असर बुधवार सेयर बजारमा देखियो। नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५ अंकमा झरेको छ। बैंकिङ समूहको सेयर मूल्यमा १.७० प्रतिशतको गिरावट आएको छ।

बुधबार कुल ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। यद्यपि, बैंकिङ समूहका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। आईसीएफसी फाइनान्स, कुमारी बैंक, साहस ऊर्जा, समृद्धि फाइनान्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा अगाडि रहेका छन्।

माहुली लघुवित्त, हिमालयन बैंक, सिटिजन्स बैंक, ग्रीन भेन्चर र प्रभु बैंकको सेयर मूल्यमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

ताजा अपडेट

Local News