वीरगञ्ज, ७ कात्तिक : मुलुकको निर्माण क्षेत्र सुस्त हुँदा वीरगञ्ज नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय गिरावट आएको छ। चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार हाइस्पिड डिजेलको आयात २५।३३ प्रतिशतले घटेको छ।
वीरगञ्ज नाका मुलुकको सबैभन्दा ठूलो इन्धन आयात नाका हो। यहाँबाट आयात हुने इन्धनले देशभरका सवारीसाधन र उद्योगहरूलाई धानेको हुन्छ। तर, पछिल्लो समय निर्माण क्षेत्र सुस्त हुँदा डिजेलको माग घटेको छ। साथै, विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणले पनि पेट्रोलको माग घटाउन मद्दत पुगेको छ।
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालका अनुसार वर्षायाम र सरकारी निकायबाट भुक्तानी नहुँदा निर्माण क्षेत्रले अपेक्षाकृत गति लिन सकेको छैन। यसले गर्दा निर्माण सामग्री र उपकरणको आयात पनि घटेको छ। दाहालले मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने विश्वास व्यक्त गरेका छन्।
हाइस्पिड डिजेल मात्र नभई पेट्रोलको आयात पनि चालु आवको पहिलो तीन महिनामा २२।५२ प्रतिशतले घटेको छ।
अमलेखगञ्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो। उनले पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने बताए।
