सोनार हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

वीरगन्ज, ७ कात्तिक : बाराको गण्डक नहरमा मृत फेला परेका वीरगन्जका वीरेंद्र साह सोनारको हत्यामा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले बुधबार बिहान वीरगन्ज नाका इनर्वाबाट विजय गुप्ता नामक भारतीय नागरिकलाई पक्राउ गरेको हो। प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार गुप्ता र सोनारबीचको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका गुप्तासँग नेपाली नागरिकता पनि रहेको खुलेको छ। प्रहरीले उनलाई थप सोधपुछका लागि हिरासतमा लिएको छ।

गत कात्तिक १ गते गण्डक नहरमा मृत फेला परेका सोनारको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो। पोस्टमार्टम रिपोर्टमा हत्या भएको उल्लेख भएपछि प्रहरीले मृतककी श्रीमती मनिषा देवीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। सोही आधारमा गुप्तालाई पक्राउ गरिएको हो।

प्रहरीले आजै पत्रकार सम्मेलन गरी पक्राउ परेका गुप्तालाई सार्वजनिक गर्ने जनाएको छ।

ताजा अपडेट

Local News