क्यासिनो काण्डमा जनप्रतिनिधि र प्रहरी निरीक्षकसम्म पक्राउ! ‘जुवा खेल्न होइन, हेर्न गएको’ दाबीले झन् चर्कियो विवाद

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठ जना क्यासिनोबाट पक्राउ परेपछि घटनाले राजनीतिक वृत्तदेखि प्रहरी प्रशासनसम्म तरंग ल्याएको छ। जिल्ला अदालत पर्साले उनीहरूमाथि अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेसँगै अब घटनाको वास्तविकता प्रमाणबाट खुल्ने भएको छ।

वीरगञ्ज–१४ गण्डकस्थित सोल्टी वेस्टेन्ड रिसोर्टको गोल्डेन फिङ्गर गेमिङ जोनबाट अध्यक्ष यादव, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित चार नेपाली नागरिक पक्राउ परेका हुन्। नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत नियन्त्रणमा छन्।

पक्राउपछि अध्यक्ष यादवले आफू जुवा खेल्न नगई क्यासिनो हेर्न मात्र गएको दाबी गरेका छन्। उनले आफू स्वीमिङ पुल क्षेत्रमा खानपिन गरिरहेको र प्रहरी निरीक्षक पौडेलको पटक–पटकको फोनपछि क्यासिनो पुगेको बताएका छन्।

प्रहरी निरीक्षकले फोन गरेका थिए भने फोनको उद्देश्य के थियो? अध्यक्ष यादवलाई किन बोलाइयो? क्यासिनो प्रवेशपछि के भयो? यी प्रश्नको जवाफ अब कल डिटेल, सीसीटीभी फुटेज, प्रवेश–निकास विवरण, बयान तथा सम्भावित आर्थिक कारोबारबाट खोजिनुपर्ने देखिन्छ।

घटनास्थलबाट गाउँपालिकाको सरकारी सवारीसाधनसमेत नियन्त्रणमा लिइएको विषयले अर्को प्रश्न थपेको छ। सरकारी गाडी क्यासिनोमा किन पुग्यो र कसको निर्देशनमा प्रयोग भयो भन्ने विषय पनि अनुसन्धानको दायरामा आउन सक्छ।

यादव दोषी वा निर्दोष भन्ने निष्कर्ष अहिले नै निकाल्न सकिँदैन। तर क्यासिनो, प्रहरीको फोन, सरकारी गाडी घटनाक्रमले प्रकरणलाई सामान्य पक्राउभन्दा गम्भीर बनाएको छ।अब यो घटनाको फैसला प्रचारले होइन प्रमाणले गर्नेछ।

ताजा अपडेट

Local News