चिकित्सकमाथि भएको हिंसाको विरोधमा नेपाल चिकित्सक संघ नारायणीको कडा निर्णय, दोषीमाथि तत्काल कारबाहीको माग

वीरगञ्ज, साउन १० । नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सामूहिक भौतिक आक्रमण, अस्पतालभित्र गरिएको तोडफोड तथा स्वास्थ्य संस्थाको शान्ति–सुरक्षामाथि भएको हस्तक्षेपप्रति नेपाल चिकित्सक संघ, नारायणी शाखाले गम्भीर आपत्ति जनाएको छ। संघले शनिबार अध्यक्ष डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा बसेको आकस्मिक जिल्ला कार्यसमिति बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो।

संघका अनुसार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम तथा अन्य चिकित्सकमाथि भएको संगठित भौतिक आक्रमण, अस्पताल परिसरमा गरिएको तोडफोड र स्वास्थ्य संस्थाको कार्यसम्पादनमा अवाञ्छित हस्तक्षेपले सम्पूर्ण चिकित्सक समुदायलाई स्तब्ध र आक्रोशित बनाएको छ। उपचाररत बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि पटक–पटक भइरहेका यस्ता हिंसात्मक घटनाले स्वास्थ्य सेवा प्रणाली नै असुरक्षित बन्दै गएको संघको निष्कर्ष छ।

प्रेस विज्ञप्तिमा चिकित्सकमाथि आक्रमण गर्ने तथा अस्पतालमा तोडफोड गर्ने व्यक्तिहरूमाथि मुलुकी अपराध संहिता, २०७४ तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ (संशोधनसहित) अनुसार तत्काल मुद्दा दर्ता गरी कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

त्यसैगरी, घटनापछि निलम्बनमा परेका पीडित चिकित्सकहरूको निलम्बन तत्काल फिर्ता गरी उनीहरूको पेशागत सम्मान, सुरक्षा तथा मनोबल पुनःस्थापित गर्नुपर्ने संघले जनाएको छ। साथै वैज्ञानिक आधारबिना गठन गरिएको भनिएको छानबिन समिति तत्काल खारेज गर्नुपर्ने माग पनि गरिएको छ।

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य संस्थाको नियमित कार्यमा पत्रकार वा अन्य कुनै पक्षबाट हुने अनधिकृत हस्तक्षेप, अनावश्यक दबाब तथा सार्वजनिक रूपमा गरिने पूर्वाग्रही टिप्पणीहरूले स्वास्थ्य सेवाको गुणस्तरमा नकारात्मक असर पार्ने उल्लेख गरेको छ। चिकित्सकीय सेवा स्वतन्त्र, निष्पक्ष र मर्यादित वातावरणमा सञ्चालन हुनुपर्ने भन्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।

संघले नारायणी अस्पतालसहित सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कुनै पनि प्रकारको डर, धम्की वा दबाबबिना सुरक्षित वातावरणमा सेवा दिन पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी तथा दीगो सुरक्षा व्यवस्था तत्काल लागू गर्नुपर्ने संघको भनाइ छ।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार आफ्ना मागहरूको तत्काल सम्बोधन नभए नेपाल चिकित्सक संघ, नारायणी शाखाले कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघले नारायणी अस्पतालसहित सम्पूर्ण सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्था र मेडिकल कलेजहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ।

संघले यस्तो आन्दोलनबाट सर्वसाधारण र बिरामी वर्गमा पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय र प्रशासनले लिनुपर्ने स्पष्ट गरेको छ। चिकित्सकमाथि हुने हिंसा, धम्की तथा असुरक्षाको अन्त्य नभएसम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा संघले जोड दिएको छ।

नेपाल चिकित्सक संघ, नारायणी शाखाका महासचिव डा. अजय कुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सकमाथि हुने हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै स्वास्थ्य संस्थालाई शान्तिपूर्ण र सुरक्षित कार्यस्थल बनाउनु राज्यको दायित्व भएको स्मरण गराइएको छ। संघले दोषीमाथि कानुनी कारबाही, पीडित चिकित्सकलाई न्याय तथा स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित नभएसम्म आफ्नो आन्दोलन जारी रहने जनाएको छ।

ताजा अपडेट

Local News