वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा चुनौती देखिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि लागू गरेको निषेधाज्ञामा जुलुस, प्रदर्शन, सभा तथा भीडभाड गर्न निषेध गरिएको भए पनि उक्त आदेशको उल्लङ्घन गर्दै साँझ करिब ६:३० बजे वीरगञ्जको घण्टाघरस्थित माईस्थान मन्दिर अगाडिबाट जुलुस निकालिएको हो।
प्रशासनले जारी गरेको आदेशमा निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, भेला वा सार्वजनिक गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको थियो। तर निषेधाज्ञा लागू भइसकेपछि पनि प्रदर्शनकारीहरूले माईस्थान मन्दिर अगाडिबाट जुलुस निकाल्दै विभिन्न नाराबाजी गरेका थिए।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि निषेधाज्ञा उल्लङ्घन गर्दै जुलुस निकालिएको दृश्य सार्वजनिक भएको छ। यस घटनाले प्रशासनको आदेश कार्यान्वयन र सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले आधिकारिक प्रतिक्रिया सार्वजनिक गर्न बाँकी रहेको छ।
