नाम जुध्दा सांसद बदनाम: पर्सा–१ का सांसद बुद्धिप्रसाद पन्तमाथि ‘कालोसूची’ आरोप भ्रामक सावित

वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै केही सञ्चारमाध्यममा प्रकाशित समाचार पूर्णतः तथ्यहीन र भ्रामक रहेको खुलेको छ।

सामान्य तथ्य जाँच नगरी केवल नाम मिलेकै आधारमा बहालवाला सांसदको तस्बिरसहित समाचार सार्वजनिक गरिँदा उनको सार्वजनिक छविमाथि गम्भीर आँच पुगेको छ। यसप्रति कडा आपत्ति जनाउँदै सांसद पन्तले आफू कुनै पनि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा नरहेको स्पष्ट पारेका छन्।

उनले यस्ता आधारहीन र कपोलकल्पित समाचारहरू आफ्नो व्यक्तिगत तथा राजनीतिक छवि धमिल्याउने उद्देश्यले फैलाइएको दाबी गर्दै कडा शब्दमा खण्डन गरेका छन्।

सांसद पन्तको खण्डनपछि गरिएको थप अनुसन्धानले पनि उक्त समाचारमा गम्भीर त्रुटि रहेको पुष्टि गरेको छ। कर्जा सूचना केन्द्रको वि.सं. २०७० फागुन १९ गतेको अभिलेखअनुसार कालोसूची नम्बर ५३१६ मा सूचीकृत व्यक्ति पर्साका सांसद नभई अर्कै व्यक्ति रहेको खुलेको हो।

वास्तविकता अनुसार कालोसूचीमा परेका व्यक्ति ‘सफल चुनढुङ्गा उद्योग’का सञ्चालक तथा गुल्मी निवासी बुद्धिप्रसाद पन्त हुन्, जसका पिताको नाम हरिलाल पन्त रहेको उल्लेख छ। एउटै नाम भएकै कारण गुल्मीका व्यवसायीको विवरणलाई पर्साका सांसदसँग जोडेर केही सञ्चारमाध्यमले तथ्यहीन समाचार सम्प्रेषण गरेको देखिएको छ।

यो घटनाले पत्रकारितामा तथ्य पुष्टि (फ्याक्ट–चेक) को महत्वलाई पुनः उजागर गरेको छ। कुनै पनि व्यक्तिको प्रतिष्ठा निर्माण गर्न वर्षौं लाग्ने भए पनि एउटा भ्रामक समाचारले क्षणभरमै गम्भीर क्षति पुर्‍याउन सक्छ।

ताजा अपडेट

Local News