वीरगञ्ज। वीरगञ्ज भन्सार क्षेत्रबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा भन्सार एजेन्ट संघसँग आबद्ध एक व्यक्तिलाई सशस्त्र प्रहरीले ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाका आधारमा भन्सार क्षेत्र आसपास चेकजाँच कडाइ गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति विनय शंकर साह तुराहा रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी वीरगञ्ज भन्सार एजेन्ट संघसँग सम्बन्धित कार्यमा संलग्न रहेको देखिएको छ।
प्रहरीका अनुसार तुराहाको साथबाट स्रोत नखुलेको २० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ। साथै उनी सवार भारतीय नम्बर प्लेट BR05BK 8603 नम्बरको कालो रङ्गको होन्डा साइन मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
घटनास्थलबाट भन्सार एजेन्ट संघको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ। उक्त परिचयपत्रमा उनलाई सहायक कर्मचारीका रूपमा उल्लेख गरिएको छ, जसले उनी संस्थासँग आबद्ध रहेको प्रारम्भिक संकेत दिएको छ।
पक्राउ परेका तुराहालाई बरामद नगद, मोटरसाइकल तथा अन्य कागजातसहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका इन्चार्ज विकास अधिकारीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। उनले अवैध हुण्डी कारोबार नियन्त्रणका लागि भन्सार क्षेत्रमा निगरानी अझ सुदृढ बनाइएको पनि बताए।
