गुडु जैसवालको गोदाममा छापा:”छापामारीको नाममा दुःख र बदनाम” — स्थानीयको गुनासो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१२ मा रहेको गुडु जैसवालको गोदाममा भन्सारका शास्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापा मारेको छ। भन्सारका डीएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले गोदाममा पुगेर छापा हानेपछि प्रारम्भमा मुख्य गेटमा ताल्चा लगाइएको थियो।

पछि स्थानीय जनप्रतिनिधि तथा वडा नं.–१२ का अध्यक्ष सुरेश गुप्ताको रोहबरमा गोदामको मुख्य गेट खोलिएको र पुनः विस्तृत जाँच प्रक्रिया अघि बढाइएको बताइएको छ। छापा मार्ने क्रममा गोदामभित्र रहेका सामग्रीहरूको सूक्ष्म परीक्षण गर्दा ट्रकका पुराना पार्ट्स तथा स्क्र्याप सामग्री मात्र फेला परेको जनाइएको छ। भेटिएका सामग्रीमा क्राउन, एक्सल, पाटा लगायतका विभिन्न पुराना ट्रक पार्ट्सहरू रहेका छन्।

भन्सार स्रोतका अनुसार डीएसपी विकास अधिकारी तथा भन्सारका अन्य कर्मचारीहरूले हाल ती सामग्रीहरूको खरिद सम्बन्धी बिल जाँच गर्ने कार्य गरेका छन्। जाँचका क्रममा गोदाम सञ्चालकले विभिन्न स्थान—छिपहरमाई, काठमाडौं, पोखरा, बुटवल लगायतबाट सेकेन्ड ह्यान्ड पार्ट्स स्क्र्यापको मूल्यमा खरिद गरिएको उल्लेख भएका बिलहरू प्रस्तुत गरेका छन्।

गोदाम सञ्चालकको भनाइ अनुसार आफूहरूसँग सबै स्क्र्याप सामग्रीका वैध र आधिकारिक बिलहरू उपलब्ध रहेका छन् र कानुनी प्रक्रिया अनुसार नै कारोबार हुँदै आएको छ। उनले छापामारीका क्रममा कुनै अवैध वस्तु फेला नपरेको दाबी पनि गरेका छन्।

यसैबीच, स्थानीय बासिन्दाहरूले भने छापामारीको नाममा व्यापारीलाई अनावश्यक दुःख दिने र बदनाम गर्ने काम भइरहेको गुनासो गरेका छन्। उनीहरूको भनाइमा छापा मार्दा कुनै अवैध सामग्री फेला नपरेपछि पनि व्यापारीलाई मानसिक दबाब दिने र समाजमा बदनाम गराउने प्रयास भइरहेको छ। “छापामारीको नाममा दुःख दिने र बदनाम गर्ने काम मात्र भइरहेको छ,” एक स्थानीयले बताए।

यद्यपि भन्सार कर्मचारीहरूको भनाइ भने फरक छ। उनीहरूका अनुसार गोदाममा रहेका सबै सामग्री स्क्र्याप जस्तो देखिए पनि त्यसको कानुनी वैधता र खरिद प्रक्रिया पुष्टि गर्न विस्तृत अनुसन्धान आवश्यक हुन्छ। सोही कारण कागजात जाँचलाई प्राथमिकता दिइएको बताइएको छ।

छापामारीका क्रममा तत्काल कुनै आपत्तिजनक वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि भन्सार टोलीले गोदाम सिल गरेको छ। साथै आवश्यक कागजात, विशेषगरी मूल बिलहरू नियन्त्रणमा लिएर टोली फर्किएको छ।

अब यस प्रकरणमा आवश्यक थप अनुसन्धान तथा कानुनी प्रक्रिया भन्सारले अगाडि बढाउने जनाइएको छ।

ताजा अपडेट

Local News