हातहातमा घण्टीको मेहन्दी, पर्सा–२ मा सुशिल कानुको रचनात्मक प्रचार

पर्सा । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुशिल कुमार कानु ले आफ्नो चुनावी अभियानलाई थप सशक्त बनाएका छन्। उनको चुनाव चिन्ह ‘घण्टी’ छाप रहेकाले समर्थकहरूबीच त्यसप्रति विशेष आकर्षण देखिएको छ।

चुनावी प्रचारका क्रममा कानु विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहेका छन्। उनले सुशासन, पारदर्शिता, युवा सहभागिता र विकासलाई प्राथमिक एजेन्डा बनाउँदै आफ्नो दृष्टिकोण सार्वजनिक गरिरहेका छन्। विशेषगरी भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारजस्ता विषयलाई उनले मुख्य मुद्दाका रूपमा अघि सारेका छन्।

यसपटकको अभियानमा देखिएको एउटा फरक दृश्य भनेको समर्थकहरूले हातमा ‘घण्टी’को आकृति मेहन्दीले अंकित गरेर समर्थन जनाउनु हो। विशेषगरी युवती तथा महिला समर्थकहरूले आफ्नो हातमा मेहन्दीमार्फत घण्टी चिन्ह कोरेर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै “हाम्रो मत घण्टीलाई” भन्ने सन्देश फैलाइरहेका छन्। यसले चुनावी माहोलमा सांकेतिक र सिर्जनात्मक समर्थनको नयाँ अभ्यास सुरु भएको चर्चा भइरहेको छ।

स्थानीय मतदाताहरूका अनुसार घण्टी छाप अब परिवर्तन र नयाँ सोचको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ। घरदैलो कार्यक्रमका क्रममा धेरैले कानुलाई प्रत्यक्ष भेटेर आफ्नो अपेक्षा र सुझाव राखिरहेका छन्। समर्थकहरू भन्छन्, “हामीले यसपटक नयाँ अनुहार र नयाँ सोचलाई अवसर दिनुपर्छ,” भन्दै घण्टी छापमा मत हाल्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।

युवा पुस्तामाझ कानुको लोकप्रियता उल्लेखनीय रूपमा बढ्दो देखिएको छ। सामाजिक सञ्जाल, टोल–सभा र अन्तरक्रियात्मक कार्यक्रममार्फत उनले मतदातासँग नजिकिने प्रयासलाई निरन्तरता दिएका छन्। उनको अभियानमा स्वयंसेवकहरूको सक्रियता पनि उच्च देखिन्छ।

पर्सा–२ मा यसपटक प्रतिस्पर्धा रोचक बन्दै गएको विश्लेषण गरिँदैछ। परम्परागत दलहरूबीचको प्रतिस्पर्धामा रास्वपाका उम्मेदवार कानुले सिर्जनात्मक प्रचारशैलीमार्फत आफूलाई फरक रूपमा प्रस्तुत गरेका छन्। हातमा मेहन्दीले कोरिएको घण्टी चिन्हले मतदाताको मनोभाव प्रकट गर्ने प्रतीकात्मक माध्यमका रूपमा चर्चा पाएको छ।

निर्वाचन नजिकिँदै जाँदा पर्सा–२ मा चुनावी सरगर्मी अझ बढ्ने संकेत देखिएको छ। यस्तो अवस्थामा घण्टी छापप्रतिको बढ्दो आकर्षणले चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

ताजा अपडेट

Local News