पर्सा । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को राजनीतिक वातावरण झन् चहलपहलपूर्ण बन्दै गएको छ। यही सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पोखरिया नगरपालिका वडा नम्बर–२ अन्तर्गत लमरिया र डामरापुर क्षेत्रमा घरदैलो तथा जनता भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे घरदैलो अभियानका क्रममा टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित भएका थिए। उनले समग्र क्षेत्रीय विकास, रोजगारी अभिवृद्धि, कृषि क्षेत्रमा आधुनिकीकरण, गुणस्तरीय शिक्षा तथा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै भावी योजनाबारे धारणा राखेका थिए।
भेटघाटका क्रममा स्थानीय मतदाताहरूले समयअनुसार परिवर्तन आवश्यक रहेको बताउँदै युवा नेतृत्वलाई अवसर दिनुपर्ने विचार व्यक्त गरेका थिए। विशेषगरी युवावर्गबीच पाण्डेको सक्रियता र विकासमुखी सोचप्रति सकारात्मक प्रतिक्रिया देखिएको जनाइएको छ।
नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममार्फत पाण्डेको पक्षमा जनसमर्थन विस्तार हुँदै गएको दाबी गरिएको छ। मतदाताहरूले क्षेत्रको दिगो विकास र स्थायित्वका लागि एमाले नेतृत्वलाई आवश्यक ठहर गर्दै पाण्डेलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यसपटक पर्सा–३ मा युवा उम्मेदवारको सशक्त उपस्थितिले चुनावी प्रतिस्पर्धामा नयाँ समीकरण सिर्जना गरेको विश्लेषण गरिएको छ। परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै विकास र रूपान्तरणको नारासहित मैदानमा उत्रिएका पाण्डेले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।
निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–३ मा दलहरूबीच प्रतिस्पर्धा अझ तीव्र हुने संकेत देखिएको छ। यस्तो अवस्थामा एमाले उम्मेदवार पाण्डेको सक्रिय प्रचार–प्रसार र बढ्दो समर्थनले चुनावी परिणाममा उल्लेखनीय प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
