वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उभिएका छन्।
पछिल्लो तीन वर्ष आठ महिनादेखि क्षेत्रका विभिन्न बस्तीमा पुगेर जनताको समस्या बुझ्ने, अध्ययन गर्ने र ग्रासरूट तहमा सक्रिय रहने अभियानलाई निरन्तरता दिँदै आएका पाण्डेले पर्सा–३ लाई समृद्ध बनाउने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेका छन्। स्थानीयसँग प्रत्यक्ष संवाद, टोल–टोलमा अन्तरक्रिया तथा सरोकारवालासँगको समन्वयमार्फत उनले क्षेत्रका ज्वलन्त मुद्दालाई प्राथमिकतामा राख्दै आएका छन्।
पाण्डेले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, सडक पूर्वाधार, रोजगारी र युवा उद्यमशीलतालाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। उनका अनुसार सही नीति, इमानदार नेतृत्व र जनसहभागितामा आधारित विकास मोडेल अपनाए क्षेत्रको समग्र रूपान्तरण सम्भव छ।
पर्सा–३ मा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच अभाव, खानेपानी समस्या, कृषि उत्पादनको उचित बजारीकरण नहुनु, युवाको वैदेशिक पलायन र आधारभूत पूर्वाधारको कमजोरी जस्ता विषयमा आफूले पटक–पटक आवाज उठाउँदै आएको उनको भनाइ छ। समर्थकहरूका अनुसार युवावर्ग, किसान र साना व्यवसायीसँगको निकट सम्बन्धले पाण्डेलाई व्यवहारिक तथा परिणाममुखी नेतृत्वका रूपमा स्थापित गरेको छ।
स्थानीय स्तरमा उनको सक्रिय जनसम्पर्क अभियानले चुनावी समीकरणमा प्रभाव पारेको आकलन गरिएको छ। विशेषगरी युवावर्ग र व्यवसायी समुदायबीच बढ्दो समर्थनका कारण उनी बलियो दाबेदारका रूपमा देखिएका छन्। केही स्थानमा “पर्सा–३ मा रुपेश कुमार पाण्डेको विकल्प नरहेको” चर्चा समेत सुरु भएको छ।
“पर्सा–३ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्र बनाउने मेरो संकल्प हो,” पाण्डेले एक कार्यक्रममा भने, “जनताको विश्वास नै मेरो शक्ति हो।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले पर्सा–३ को राजनीतिक दिशा तय गर्नेछ। विकासमुखी एजेन्डा र जनआधारित अभियानले मतदातालाई कत्तिको प्रभावित पार्छ भन्ने विषय भने निर्वाचन परिणामले स्पष्ट पार्नेछ।
