पटेर्वा सुगौलीमा एमालेको शक्ति प्रदर्शन, रूपेश पाण्डेको समर्थनमा कार्यकर्ता उत्साहित

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेले चुनावी गतिविधि तीव्र बनाउँदै लगेको छ। प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा स्थानीय स्तरमा समर्थन बढ्दै गएको देखिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उल्लेखनीय सहभागिता देखिँदा पर्सा–३ को राजनीतिक वातावरण थप सक्रिय बनेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले पर्सा–३ मा जनताको चाहना परिवर्तनतर्फ केन्द्रित भएको बताए। उनले विकास र सुशासनको स्पष्ट एजेन्डासहित एमाले मैदानमा उत्रिएको उल्लेख गर्दै उम्मेदवार रूपेश कुमार पाण्डे जनताको भरोसाको केन्द्र बनेको दाबी गरे। मधेसको समृद्धि र स्थिरताका लागि एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

युवा उम्मेदवार रूपेश कुमार पाण्डेले कार्यक्रममा बोल्दै पर्सा–३ लाई विकासको नयाँ चरणमा लैजाने प्रतिबद्धता व्यक्त गरे। शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्ने बताउँदै उनले अब भाषण होइन, परिणाममुखी काम आवश्यक भएको धारणा राखे। जनताको विश्वासलाई समृद्धिमा रूपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको उनले स्पष्ट पारे।

पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता मा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो। पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य बिजय सरावगी, सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश उपाध्यक्ष बिचारी यादव, जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश लगायत नेताहरूले पार्टी संगठन थप मजबुत बनाउँदै उम्मेदवार पाण्डेलाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। कार्यक्रमले पर्सा–३ मा एमालेको चुनावी आधार अझ बलियो बन्दै गएको संकेत दिएको छ।

ताजा अपडेट

Local News