अख्तियारको कारबाही: चाबहिल यातायात कार्यालयमा घुस लेनदेनको आरोप, दर्जनौँ मोबाइल बरामद

काठमाडौँ।
यातायात व्यवस्था कार्यालय चाबहिलमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा भएको गम्भीर अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुखसहित कर्मचारी, प्रहरी र निजी ड्राइभिङ सेन्टरसँग सम्बन्धित व्यक्तिहरूका मोबाइल फोन तथा महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार लिखित परीक्षामा असफल भएका सेवाग्राहीहरूलाई बिचौलियामार्फत सम्पर्क गरी तोकिएको तीन महिनाको समयावधि पूरा नहुँदै पुनः परीक्षा दिन मिलाउने नाममा घुस संकलन गरिएको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको हो। सेवाग्राहीहरूबाट प्रतिव्यक्ति ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम असुल्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

छापाको क्रममा यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको छ। त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीका मोबाइल फोन पनि जफत गरिएको छ।

यसका साथै, नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनासँग सम्बन्धित एक थान मोबाइल फोन पनि अख्तियारले नियन्त्रणमा लिएको छ।

लिखित परीक्षामा फेल भएको मितिले तीन महिना पूरा नहुँदै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीहरूको उत्तरपुस्तिका तथा अन्य सम्बन्धित कागजातहरू समेत अनुसन्धानका लागि जफत गरिएको आयोगले जानकारी दिएको छ।

अख्तियारले घटनामा संलग्न व्यक्ति तथा संस्थामाथि थप अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने जनाएको छ।

ताजा अपडेट

Local News