बाराको सिमरा तनाव दोहो¥यियो : जेनजी समूहका युवाको दोस्रो दिन पनि सडक प्रदर्शन

बाराको सिमरा क्षेत्र बुधबारदेखि जारी तनावरहित वातावरणमा प्रवेश गर्न नपाउँदै आज दोस्रो दिन पनि आन्दोलन, प्रदर्शन र भीड–भाडका कारण पुनः अशान्त बनेको छ। नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू र जेनजी समूहका युवाबीच बुधबार भएको विवाद र झडपले सुरु भएको तनाव क्रमशः थप उग्र बन्दै गएको छ।

बुधबारको झडपपछि सिमरा एकाएक तनावग्रस्त बनेको थियो, जसपछि जिल्ला प्रशासन कार्यालय बाराले शान्ति सुरक्षा नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको थियो। तर, आज बिहीबार बिहानैदेखि जेनजी समूहका युवाहरू पुनः सडकमा उत्रिएपछि स्थिति फेरि बिग्रिएको छ। बिहान करिब १० बजेदेखि सिमरा चोकमा सयौँ युवाहरू भेला भई टायर दाह्रो बाल्दै विरोध प्रदर्शन थालेका छन्।

प्रदर्शनकारीहरूले आफूहरूमाथि कुटपिट तथा आक्रमणमा संलग्न एमालेका नेता–कार्यकर्तालाई तत्काल पक्राउ गर्न माग गरे । उनीहरूका अनुसार अपराधीलाई खुलेआम संरक्षण दिइएको र घटनामा दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोकिने चेतावनीसमेत दिइएको छ।

बुधबार बेलुकासम्म केही शान्त देखिएको वातावरण आज बिहानै पुनः तातिएपछि सिमरा क्षेत्रमा सुरक्षा स्थिति झन् कमजोर बन्न पुगेको छ। कर्फ्यूको आदेश जारी रहे पनि युवाहरूको प्रदर्शन नरोकिनु स्थानीय प्रशासनका लागि चुनौती बनेको छ।

यही तनावका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। बजार पसलहरू बन्द छन्, विद्यालय तथा यातायात सेवा संचालनमा अवरोध छ। स्थानीय बासिन्दा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने अवस्था छ भने सुरक्षा निकायका ठूलो संख्यामा परिचालन भइरहेका छन्।

प्रशासनले परिस्थिति नियन्त्रणमा लिन पहल जारी राखेको बताउँदै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। तर, जेनजी समूहका युवाहरू माग पूरा नभएसम्म आन्दोलन जारी रहने अडानमा उभिएका छन्, जसले गर्दा सिमरा क्षेत्रमा तनाव अझै केही दिन लम्बिन सक्ने आँकलन गरिँदै छ।

ताजा अपडेट

Local News