अमरेश कुमार सिंह नेतृत्वको टोली जनमत पार्टीमा प्रवेश, सर्लाही–४ मा राजनीतिक माहोल फेरियो

सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा राजनीतिक परिदृश्यलाई प्रभावित गर्ने महत्त्वपूर्ण घटनाक्रम सार्वजनिक भएको छ। स्वतन्त्र अभियानमार्फत सक्रिय रहेका नेता अमरेश कुमार सिंह नेतृत्वको समूहले औपचारिक रूपमा जनमत पार्टी प्रवेश गरेको घोषणा गरिएको छ। जनमत पार्टीले यस प्रवेशलाई आगामी निर्वाचन तथा स्थानीय राजनीतिक सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धिको रूपमा अभिव्यक्त गरेको छ।

गोडैता नगरपालिकामा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउत प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य राकेश मिश्रले गरेका थिए भने प्रवेश प्रक्रियाको पहल र संयोजन जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य संजय कुमार सिंहको विशेष भूमिकामा सम्पन्न भएको हो।

कार्यक्रममा गोडैता नगरपालिकाका मेयरका प्रत्याशी श्याम बाबू साह सहित स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। लामो समयदेखि सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय अमरेश कुमार सिंहले स्वतन्त्र समूह परित्याग गरी जनमत पार्टी रोज्नुका पछाडि संगठनात्मक स्थिरता, वैचारिक स्पष्टता र जनस्तरमा प्रभावकारी कार्यक्रमहरू प्रमुख कारण रहेको बताइएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले जनमत पार्टी जनताको मुद्दा, सीमान्तकृत समुदायको अधिकार र विकास आधारित राजनीतिका लागि प्रतिबद्ध रहेको उल्लेख गरे। उनका अनुसार, अमरेश कुमार सिंह जस्ता नेतृत्व क्षमता भएका व्यक्तिहरू पार्टीमा प्रवेश गर्नु जनमत पार्टीको संगठनात्मक विस्तार र जनविश्वास बढेको संकेत हो।

यस प्रवेशसँगै सर्लाही–४ मा जनमत पार्टीको जनआधार थप मजबुत हुने विश्लेषण राजनीतिक वृत्तमा सुनिन थालेको छ। अमरेश कुमार सिंहको नेतृत्वमा रहेका दर्जनौँ नेताकार्यकर्ताहरूको समावेशले स्थानीय स्तरमा चुनावी समीकरणलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

मेयर पदका प्रत्याशी श्याम बाबू साहले समेत नवप्रवेशी टोलीलाई स्वागत गर्दै जनमत पार्टीले स्थानीय विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता दोहोर्याए।

अन्त्यमा, उपस्थित नेताहरूले नेता श्याम बाबू साह, अमरेश कुमार सिंह तथा अन्य सबै नवप्रवेशी सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भविष्यमा एकताबद्ध भएर जनताको हितका लागि काम गर्ने संकल्प व्यक्त गरे।

ताजा अपडेट

Local News