काठमाडौं, १४ मंसिर : रामेछापमा भएको भीषण सडक दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ६ जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको सुमो गाडी गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनाग्रस्त सुमोमा ८ जना सवार थिए। दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
मृतकमध्ये गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत पनि पर्छन्। उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कारबाही अघि बढाएको छ।
यस दुर्घटनाले स्थानीयबासीलाई स्तब्ध बनाएको छ। वडाध्यक्ष बस्नेतको निधनले गाउँपालिकामा शोक छाएको छ।
