काठमाडौं, १४ मंसिर : पछिल्लो समय सामाजिक सञ्जालमा भ्रम फैलाउने, घृणा फैलाउने र सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउने, द्वेष फैलाउने र सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने कार्यलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। मन्त्रालयले यस्ता गतिविधिले समाजमा विभाजन ल्याउने र देशको शान्ति सुरक्षामा खलल पुर्याउने भन्दै चिन्ता व्यक्त गरेको छ।
मन्त्रालयले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ। मन्त्रालयले भनेको छ, जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ।

